नेपालमा पहिलो पटक भेटियो ‘हरियो परेवा

0
107

वन्यजन्तु फोटोग्राफर देवेन्द्रकुमार खरेलले झापामा अचम्मको हरियो परेवा देखे अनि तत्काल तस्वीर र भिडियो खिचे। त्यो अचम्मको परेवा ‘ग्रीन इम्पेरियल पिजन’, नेपालमै अहिलेसम्म नभेटिएको नयाँ परेवाको प्रजाति।

सन् १८५९ मा प्रकाशित चाल्र्स डार्विनको पुस्तक अन दि ओरिजिन अफ स्पेसिसः बाई मिन्स अफ न्याचुरल सेलेक्सन (प्राकृतिक छनोटद्वारा जातिहरूको उत्पत्ति) को ‘घरेलु अवस्थामा विविधीकरण’ अध्यायमा परेवाका नश्लहरू अन्तर्गत तिनका भिन्नता र उत्पत्तिका चर्चा पढ्न पाइन्छ।

‘घरपालुवा सबै परेवाका नश्लहरू पहरामा बस्ने जंगली परेवा कोलम्बा लिभियाबाट उत्पन्न भएका हुन्। घरपालुवा परेवामा कैयौं उपजाति वा भौगोलिक कुटुम्ब पनि सामेल छन्, जुन एक अर्काेबाट केही हदसम्म धेरै साना लक्षणहरूमा भिन्न छन् भन्ने पनि उनको बुझाइ थियो’, यस्तो डार्विनको ठम्याइ थियो।

डार्विनकै द एक्सप्रेसन अफ दि इमोसन्स् इन् म्यान एण्ड एनिमल्स पुस्तक सन् १८७२ मा प्रकाशित भयो। त्यसयता यी पुस्तकहरू जीवविज्ञानका विद्यार्थी र जिज्ञासुका लागि नपढी नहुने निधि झैं बनेका छन्।

हामीकहाँ घरपालुवा र जंगली परेवा फरक फरक रंगमा भेटिन्छ। त्यसो त घरपालुवा परेवासँग काटीकुटी मिल्ने जंगली परेवा पनि छन्। काठमाडौंस्थित चोभार गल्छीको पहरामा यस्ता परेवा सयौंको संख्यामा भेटिन्छन्। डार्विनको खोज अनुसार, तिनीहरू पहरामा बस्ने जंगली परेवा हुन्। कालान्तरमा तिनै परेवा घरपालुवा बनेका हुन्।

मलेवा अर्थात् परेवा

पहरामा बस्ने परेवालाई मलेवा भन्ने गरिएको छ। मलेवाको वैज्ञानिक नाम कोलम्बा लिभिया हो। मानिसले करीब १० हजार वर्ष पहिले मलेवा पाल्न शुरू गरे। मलेवाकै एक उपप्रजाति हो, घरपालुवा परेवा।

वैज्ञानिकहरूले घरपालुवा परेवाको वैज्ञानिक नाम कोलम्बा लिभिया डोमेस्टिका राखेका छन्। कोलम्बा लिभिया र कोलम्बा लिभिया डोमेस्टिकाबीचको फरक खुट्याउन अत्यन्त गाह्रो छ।

तर, भिन्न भूसतह, उँचाइका पहरामा बस्ने मलेवामा भने फरक छुट्याउन सकिन्छ। तिनीहरूको रूप र आकारमा थोरै भिन्नता पाइन्छ। पहाडको औल र कछाडका पहरामा बस्ने जंगली परेवालाई मलेवा भने झैं लेकका पहरामा बस्ने जंगली परेवालाई लेकाली मलेवा वा हिल पिजन भनिन्छ। यसको वैज्ञानिक नाम कोलम्बा रुपेष्ट्रिज हो। हिमाली भेगमा पाइने जंगली परेवालाई हिमाली मलेवा (कोलम्बा लिउकोनोटा) भनिन्छ।

नेपालमा यी तीन मलेवा प्रजाति बाहेक अन्य तीन जंगली परेवाका प्रजाति पाइएका छन्। तिनीहरूलाई कमन वूड पिजन (कोलम्बा पालुम्बस), स्पेकल्ड पिजन (कोलम्बा हज्सोनी) र आशी वूड पिजन (कोलम्बा पुल्छि-कोलिजस) भनिन्छ।

युट्यूबमा अपलोड दृश्यमा ग्रीन इम्पेरियल पिजनले रूखका स–साना कलिला पात खाँदै गरेको देखिन्छ। यसले मूलतः जंगली फल, पात र फूल खाने गर्छ। करीब ६/७ वर्षसम्म बाँच्ने यो पक्षी भारतमा समुद्री सतहबाट एक हजार मिटर उँचाइको चिस्यानयुक्त जंगलमा पाइन्छ।

भारतका सीमावर्ती क्षेत्रमा यो पक्षी पाइएकाले झापालगायत नेपालका जिल्लाहरूमा पनि देखिनु स्वाभाविक मान्नुपर्छ। फोटोग्राफर खरेलले ग्रीन इम्पेरियल पिजन सतीघट्टाबाट उत्तरतर्फ उडेर गएको बताएका छन्। यस हिसाबमा यो पक्षी इलाम जिल्लामा पनि पाइन सक्छ।

चिनौं जोगाउनैपर्ने गिद्ध

तीन दशक अघिसम्म हूलका हूल देखिने गिद्धका चार प्रजाति अहिले संकटमा छन् । मुख्य कारण बनेका छन्– पशु उपचारमा प्रयोग औषधि र ठूला विकास परियोजना ।

नेपाल पन्छी संरक्षण संघकाे अध्ययनमा नेपालमा ८८६ प्रजातिका पक्षी पाइएका छन्। तर, त्यसयता पनि तीन/चार प्रजाति नयाँ भेटिएका छन्। थप अध्ययन, अनुसन्धान हुनसके नेपालमा थप प्रजाति भेटिने सम्भावना नकार्न सकिन्न। तर, वास्तविकता के छ भने व्यक्तिगत तवरबाट पनि गर्न सकिने यसखाले अध्ययन, अनुसन्धानलाई सरकार कहिल्यै प्रोत्साहन गर्दैन, बरु विभिन्न नियम र कानून देखाउँदै निरुत्साहित गर्छ।

सरकारको यस्तो प्रवृत्तिका बाबजूद स्वस्फूर्त रूपमा पक्षीप्रति अभिरुचि राख्ने व्यक्तिहरू बढ्न थालेका छन्। एक उदाहरण हुन्, देवेन्द्रकुमार खरेल। पूर्वी नेपालका विभिन्न ठाउँ गएर पक्षीको तस्वीर खिच्नु र सामाजिक संजालमार्फत जानकारी फैलाउनु उनको दिनचर्या नै बनेको छ। उनको एउटै उद्देश्य छ– नेपाललाई ‘पक्षी पर्यटन’का विश्वसामु चिनाउने। यसका लागि उनी पहिले आफ्नै देशका पर्यटकीय स्थलहरूमा पाइने पक्षीहरूको जानकारी लिन चाहन्छन्।

– कमल मादेन वनस्पतिविद्‍ हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here