दाङमा पार्किङ गरिएको भारतीय कारमा तीन बालकको शव फेला पर्यो

0
47

बुटवल – दाङको तुलसीपुरमा एक भारतीय कारमा शनिबार मृत फेला परेका तीन बालकको पहिचान खुलेको छ। तुलसीपुर उपमहानगरपालिका ६ स्याउली बजारमा रोकिराखेको भारतीय आरजे ०१ सीसी ०८८५ नम्बरको गाडीमा कुहिएको अवस्थामा तीन बच्चाको शव भेटिएको थियो।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ६ बस्ने भीमबहादुर परियारका ९ वर्षीय छोरा सन्दीप परियार, सोही ठाउँका सन्तोष परीयारका ७ वर्षीय छोरा सुवर्ण परियार र सोही ठाउँका किरण परियारका ६ वर्षीय छोरा करण परियार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए।

उनीहरूको शव पाेष्टमार्टमका लागि तुल्सिपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएकाे प्रहरीले जनाएको छ।

शव पहिचान हुन नसकेपछि प्रहरीले स्थानीयलाई खबर गरेको थियो। मृतक बालकका परिवारले लगाएको कपडाका आधारमा बालकको सनाखत भएको हो। अभिभावकहरूले १६ गते बच्चा हराएको भन्दै प्रहरीमा उजुरी दिएका थिए।

गाडी केही महिनाअघि नै त्यहाँ रहेको स्थानीयले बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

‘माघदेखि पार्किङ गरी राखेको गाडीभित्र तीन वटा शव फेला परेको छ,’ सिंहले भने, ‘घटना गम्भीर छ, हामी सूक्ष्म अध्ययन गरिरहेका छौं।’ उनले थप अनुसन्धानका लागि नेपालगन्जबाट तालिम प्राप्त कुकुर ल्याउने तयारी भइरहेको बताए।

प्रहरी अधिकारीका अनुसार शनिबार साँझ एउटा बस पार्किङका लागि त्यो कारनजिकै जाँदा चालक र सहचालकलाई निकै गन्ध आएको थियो। त्यसपछि वरिपरि हेर्दा केही नदेखिएको र बत्ती बालेर हेर्दा कारमा शव भेटिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here