नारायणकाजी श्रेष्ठ मञ्चमै सन्कनुको कारण यस्तो रहेछ, मञ्चमै रिसाउनुको कारण यो रहेछ,

0
97

कास्की मिडिया :नारायणकाजी सनक्क सन्कनुभयो, फन्कनुभयो । राजधानीमा शुक्रबार प्रचण्ड समूहले गरेको सभाको मञ्चमा नारायणकाजी रिसाउनुभएको भिडियो अहिले चर्चित छ । खासमा किन उहाँ रिसाउनुभएको थियो ? यसको कारण खोतलेको छ सनराइज खबरले ।प्रचण्ड समूह स्रोतका अनुसार नारायणकाजीको योगेश भट्टराई र सूर्य सुवेदी पथिकसँग केही सातादेखि चर्काचर्की पर्दै आएको छ । कारण हो– आन्दोलन परिचालनमा योगेश र पथिक हावी हुनु । आन्दोलन र जनपरिचालनका अनुभवी योगेशले पथिकसँग मिलेर सबै निर्णय एकलौटी गर्नुभएको थियो । योगेश प्रचण्ड समूहको आन्दोलन परिचालन समितिका सहसंयोगक र पथिक चाहिँ सचिव हुनुहुन्छ ।

आन्दोलन र जनपरिचालनको मामिलामा एमाले कालमै योगेश अनुवभी र योग्य मानिनुहुन्थ्यो । पथिक भने प्रचण्ड समूहमा रामबहादुर थापालाई छाडेर जानुभएको हो । गृहमन्त्री थापाको सल्लाहकार हुनुहुन्थ्यो पथिक । पार्टी विभाजन भएपछि मात्र प्रचण्डतिर लाग्नुभएका पथिकले आन्दोलन परिचालन समितिको सचिव जस्तो महत्वपूर्ण जिम्मेवारी पाउँदा नारायणकाजीलाई चित्त बुझेको थिएन ।आन्दोलन परिचालनका लागि बसेको बैठकमा नारायणकाजीले योजनाहरु सुनाउँदा योगेश र पथिकले एक स्वरले ‘त्यसो गरेर हुँदैन कमरेड, आन्दोलन परिचालनको तपाईंलाई अनुभव नै छैन’ भन्नुभएको थियो ।

जवाफमा नारायणकाजीले ‘तपाईंहरुले त ओलीकै भाषा बोल्नुभयो’ भन्नुभएको थियो । नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नारायणकाजीलाई आन्दोलन र क्रान्ति नदेखेको भन्नुभएको थियो । त्यही कुरा टिपेर नारायणकाजीले ‘ओलीकै भाषा’ भन्नुभएको थियो ।पम्फा भुषाल पनि आन्दोलन परिचानलन समितिमा हावी भएको नारायणकाजीलाई मन परेको छैन । उपत्यकामा आन्दोलन परिचालनको जिम्मा पम्फाको छ । पम्फाले पहिलेदेखि नै नारायणकाजीको नाम ‘भुईंफुट्टा’ राखिदिनुभएको छ । विगतमा रामबहादुर थापा बादलको समूहमा रहँदादेखि नै पम्फाले नारायणकाजीलाई देखिसहनुहुन्न । आन्दोलन र क्रान्तिको नाममा सिन्को पनि नभाँची प्रचण्डसँग टाँसिएर आफूभन्दा ठूलो नेता नारायणकाजी बनेकोमा पम्फा र उहाँको टिमका नेताहरु रिसाएका छन् ।

शुक्रबारको सभा अघिको जुलुसमा नेताहरु सहित टुँडिखेल एक फन्को लगाउने नारायणकाजीको योजना थियो । आफने नेतृत्वको आन्दोलन परिचालन समितिको सफलता देखाउने, प्रचण्ड र माधवसँग नारिएर नेताका रुपमा देखिन पाउने नारायणकाजीको उद्देश्य थियो । तर, पम्फा भुषाल, योगेश भट्टराई र पथिकले पूरै टुंडिखेल नेताहरुलाई घुमाउन मान्नुभएन । त्यसै पनि नारायणकाजी योगेश, पम्फा र पथिकसँग आगो हुनुभएको थियो, टुँडिखेल घुम्न हुँदैन भनेपछि झन् रिसाउनुभयो । नारायणकाजीले निक्कै कर गरेपछि पथिकले प्रचण्डको सुरक्षा गार्डलाई बोलाइदिनुभयो । गार्डले ‘सुरक्षाका कारण प्रचण्डलाई पूरै टुँडिखेल घुमाउन मिल्दैन’ भनिदिए । प्रचण्ड र माधवले पनि पूरै घुम्न मान्नुभएन । त्यसपछि नारायणकाजी यति सन्कनुभयो कि बर्बराउन थाल्नुभयो । बर्बराउँदै उहाँले गरेको हर्कत भिडियोमा सबैले छर्लङग देखे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here