आमाका लागि सन्तान कत्ति प्यारो हुन्छ भन्ने कीर्तिपुरका कमला विद्याधरबाट जान्न सकिन्छ । मंगलबार ब्रिजवेन मिल्टनस्थित वाइस्ली अस्पताल पुग्दा छोरा प्रसन्नलाई स्याहार गरिरहनु भएको थियो कमला । १३ दिन अघि आफ्नो शरिरको बोनम्यारो निकालेर छोरालाई दिनु भएकी कमलालाई मैले सोधे -‘तपाईलाई कुनै साइड इफेक्ट देखिएको छ त ?’ छोरा तिर पुलुक्क हेर्दै कमलाले भन्नुभयो -‘छोराको ज्यान भन्दा ठुलो मेरा लागि केही छैन, त्यसैले मैले साइड इफेक्टको बारेमा सोच्न पनि पाएको छैन ।’
परिवारको भविष्य २२ वर्षिय छोरालाई रगतको क्यान्सर भएपछि ऋणधन गरेर कमला अष्ट्रेलिया आउनु भएको हो । सिड्नीमा अध्ययतरत प्रसन्नलाई डाक्टरको सल्लाह बमोजिम ब्रिजवेनको वाइस्ली अस्पतालमा बोनम्यारो प्रत्यारोपणका लागि पठाइएको हो । आमाको बोनम्यारोको केही अंश निकालेर छोरामा हाल्ने प्रत्यारोपण सफल समेत भएको छ । प्रसन्नलाई अहिले अस्पतालको अति संवेदनशिल कक्षमा राखिएको छ । नेपालट्युबसंग कुरा गर्दै प्रसन्नले आर्थिक सहयोग गर्ने तथा स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिनुभएको छ ।
आर्थिक अभावले तनाव
बोनम्यारो प्रत्यारोपण सफल त भयो, तर यतिबेला कमला र प्रसन्नलाई खर्चको चिन्ताले सताउन थालेको छ । डाक्टरले प्रत्यारोपण प्रकृयाका लागि लगभग १ लाख डलर खर्च हुने जानकारी दिएको प्रसन्नले बताउनुभयो । प्रसन्नको उपचारको खर्च जुटाउन खोलिएको गोफन्ड मि अकाउन्टमा १७ सय दाताबाट ५८ हजार डलर त संकलन भएको छ तर अझै आधा रकम अपुग देखिन्छ ।
प्रसन्नलाई सहयोग गर्न यो लिंकमा जानुहोस् ।
त्यसो त छोराको उपचारका लागि आमा कमलाले ऋणधन नगरेको होईन । तर, रुपैयामा ल्याएको पैसा डलरमा खर्च गर्दा कत्ति पो हुन्छ र ? प्रसन्नको विद्यार्थी बिमाले अस्पतालको बसाई र सामान्य खर्च तिरिदिने भएपनि प्रत्यारोपण, अन्य महंगा परिक्षण, बोनम्यारो दिने आमाको परिक्षणको खर्च भने आफैले जोहो गर्नुपर्ने अवस्था छ ।
आमाको परिक्षणका लागि मात्रै ३० हजार डलर खर्च भईसकेको प्रसन्नले जानकारी दिए । प्रसन्नको आमालाई बस्नका लागि अस्पताल नजिकै ल्युकेमिया फाउण्डेसनले कोठा भने दिएको छ । ब्लड क्यान्सर भएर यस्तै प्रकृयाबाट गुज्रिएर निको भएका ब्रिजवेनका उज्वल पौडेल प्रत्यारोपण भएपछि पनि १ सय दिनसम्म अस्पतालको विशेष कक्षमा निगरानीमा बस्नुपर्ने र थुप्रै महंगा परिक्षण गर्नुपर्ने भएकाले अझै खर्च बढ्ने बताउनुहुन्छ ।
‘प्रसन्न र आमाको नियमित जसो परिक्षण गर्नुपर्ने तथा बिमाले समेत कभर नगर्ने भएकाले खर्च बढ्ने देखिन्छ’- पौडेलले भन्नुभयो -‘हामी सबैले मिलेर सहयोग जुटाउने कोसिसमा छौ ।’
प्रसन्नलाई ब्रिजवेन बिमानस्थलमा लिन जानेदेखि हरेक दिन जसो अस्पताल पुगेर उज्वलले सहयोग गरिरहनु भएको छ । आफु पनि यस्तै परिस्थितीबाट गुज्रिएकाले प्रसन्नको पीडा बुझ्न सक्ने उज्जवले बताउनुभयो । प्रसन्नको बारेमा जानकारी पाएको भन्दै एनआरएनए कुइन्सल्याण्डका सचिव अतुल खड्काले टिममा छलफल गरेर सकेको सहयोगको व्यवस्था गर्ने बताउनुभयो ।
यो पनि पढ्नुहोस
देशभरका संरक्षित क्षेत्रमध्ये सबैभन्दा बढी गैंडा रहेको चितवन राष्ट्रिय निकुञ्ज नै गैंडाका लागि असुरक्षित बन्दै गएको छ।
नारायणी नदीको उत्तरी किनारमा गत साता माउ र बच्चा गैंडा मरेको अवस्थमा भेटिए। स्थानीय बासिन्दाले खबर गरेपछि सुरक्षाकर्मीसँगै पुगेको चितवन राष्ट्रिय निकुञ्जको टोली निरास देखियो, किनकि माउ गैडाको खाग निकालिएको थियो।
निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारी भन्छन्, “प्राकृतिक कारणले मरेको पाईए पनि लामो समय चोरीशिकारीका कारण गैंडा मरेका थिएनन्। यो चोरीशिकारको घटनाले हामीलाई पनि दुःख लागेको छ।”
तिवारीका अनुसार निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–२ को नारायणी नदीको उत्तरी किनारमा माघ ६ गते मृत भेटिएका गैंडामध्ये माउ १४ वर्षको र बच्चा चार वर्षको थियो। शिकारीको विद्युतीय धरापमा पर्दा गैंडाको माउ र बच्चा मरेको उनको भनाइ छ। गैंडा मृत भेटिएको स्थान निकुञ्जको अमलटारी सेक्टर अन्तर्गतको भुताह पोस्ट नजिक पर्छ।
यो घटनाले संरक्षणकर्मीलाई पनि चिन्तित बनाएको छ। किनकि, केही समययता निकुञ्जमा गैंडाको संख्या निरन्तर बढिरहेको छ। निकुञ्ज र यसको मध्यवर्ती क्षेत्र गैंडाको राम्रो बासस्थान भएको क्षेत्र मानिन्छ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका अनुसार दुई वर्षअघि भएको पछिल्लो गणनामा देशभर ७५२ गैंडा छन्। जसमध्ये चितवनमा ६९४ गैंडा भेटिएका छन्। त्यस्तै, बर्दिया राष्ट्रिय निकुञ्जमा ३८, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ र पर्सा राष्ट्रिय निकुञ्जमा तीन गैंडा रहेको तथ्यांक छ।
सन् २००४ अघि निकुञ्जमा ४१२ गैंडा थिए। सन् २००५ मा गरिएको गणनामा घटेर ३७२ मात्रै भेटिएका थिए। त्यतिवेला पनि चोरीशिकारीले घटेको देखिएको थियो। त्यसयता गैंडाको संख्या घटेको छैन। तर, पछिल्लो घटनाहरूले फेरि चोरीशिकारी बढ्दै गएको देखाएको छ।
पछिल्ला सात महीनामा ११ गैंडा मृत भेटिएका छन्। अधिकांश गैंडा बाघसँग जुधेर, घाईते भएर जस्ता प्राकृतिक कारणले मरेको पाइएको सहायक संरक्षण अधिकृत तिवारीको भनाइ छ। त्यसअघि २०७८ असोजमा निकुञ्ज क्षेत्रमै शिकारीले करीब २८ वर्षको पोथी गैंडा मारेको थियो। पछिल्लो घटनामा अनुसन्धान भइरहेको बताउँदै तिवारी भन्छन्, “गैंडाको सुरक्षामा थप सचेत हुनुपर्ने भएको छ।”
निकुञ्जले भन्दै आएको प्राकृतिक कारणले पनि गैंडा मर्ने क्रम झनझन बढ्दै गएको छ। आर्थिक वर्ष २०५८/५९ मा ३७ वटा गैंडा चोरीशिकारीबाट मारिएका थिए भने ११ वटा प्राकृतिक रुपमा मरेका थिए। त्यसपछि झण्डै १० वर्ष २०६७ सालको पुससम्म चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा गैंडाको चोरी शिकार भएको पाइएको थिएन।
२०६८ पुस २३ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चितवन निकुञ्जमा पहिलो ‘शून्य शिकार वर्ष’ मनाएको थियो। त्यसपछि पनि आर्थिक वर्ष २०७१/७२ र २०७२/७३ मा चोरीशिकारी भएको थिएन।
त्यसपछि भने चोरीशिकारी हुन थालेको छ। २०७३/७४ मा एउटा गैंडा चोरीशिकारीबाट मारिएको थियो। गत आर्थिक वर्ष २०७८/७९ मा दुई गैंडा मारिएका थिए।
यो बीचमा चोरीशिकारीका घटनामा केही कम आए पनि प्राकृतिक कारणबाट गैंडा मर्ने दर बढेको छ। निकुञ्जको तथ्यांक अनुसार आर्थिक वर्ष २०७२/७३ मा १५ वटा गैंडा प्राकृतिक कारणले मरेका थिए। त्यसपछिका ६ वर्षमा १८९ गैंडा प्राकृतिक कारणबाट मरेको पाइएको छ। जसमध्ये आर्थिक वर्ष २०७३/७४ मा २४, २०७४/७५ मा २६, २०७५/७६ मा ४३, २०७६/७७ मा २७, २०७७/७८ मा ३३ र २०७८/७९ मा ३७ गैंडा मरेका छन्।
निकुञ्जले मानवीय तथा चोरीशिकार गर्ने उद्देश्य बाहेकका अरू कारणले गैंडा मरेमा त्यसलाई प्राकृतिक कारणमा राख्ने गरेको छ। प्राकृतिक कारणले मरेका सबै गैंडा उमेर पुगेर र बुढो भएर मरेका छैनन्। बाघसँग जुधेर, आपसमा जुधेर, दलदलमा भासिएर, बुढो भएर, खाडलमा परेर एक महीने बच्चादेखि ३५ वर्षसम्मका गैंडा मरेको भेटिएका थिए।
पछिल्लो सात महीनामा मृत भेटिएका ११ मध्ये आठ वटा प्राकृतिक कारणले मरेको पाइएको सहायक संरक्षण अधिकृत तिवारीले बताए। जसमा तीन वटा बाघसँग जुधेर घाईते भएर, दुई वटा विरामी भएर र तीन अन्य कारणले मरेका हुन्।
बाँकी तीनमध्ये एउटालाई करेन्ट लगाएर मारिएको पाइएको थियो। गत साता माउ र बच्चालाई शिकारीले विद्युतीय धरापमा परेर मारेको भेटिएको छ। यसमा अनुसन्धान भइरहेको निकुञ्जले जनाएको छ।