रोजगारीको सिलसिलामा भारतमा गएर लामो समयदेखि नफर्किएको विषयलाई हामीले एउटा मुद्दाका रूपमा उठान गरेर अध्ययन गरेका थियौं । करीब चार वर्षअघि सुदूरपश्चिमका कञ्चनपुर र डोटी जिल्लाका चार वटा स्थानीय तहमा अध्ययन गर्ने क्रममा तीन वर्षदेखि २५ वर्षसम्म घरपरिवारको सम्पर्क नभएका परिवारको तथ्यांक संकलन गरेका छौं ।
त्यो क्रममा डोटीको शिखर नगरपालिका, केआईसिंह गाउँपालिकाका दुई वटा वडा, कञ्चनपुरको पुनर्वास नगरपालिका र दोधारा–चाँदनी नगरपालिकामा गरेर २१८ जना लामो समयदेखि परिवारको सम्पर्कमा नभएका अथवा भारतमा बेपत्ता भएको जानकारी पाइएको थियो ।
यसले यस्तो स्थिति सिर्जना गरेको छ कि श्रीमान् हराएको २० वर्ष पुगेको छ तर श्रीमतीले राज्यको कुनै पनि निकायबाट सामाजिक सुरक्षा भत्ता पाउँदिनन् । किनभने श्रीमतीले श्रीमान्को मृत्यु भयो भन्न सक्ने अवस्था नै छैन । मृत्यु भएको प्रमाणित गर्ने निकाय कुन हो भन्ने कुरा पनि थाहा छैन । सोही कारणले राज्यले दिने सेवा–सुविधाबाट वञ्चित भएको अवस्थाले बालबच्चा पाल्न समेत समस्या भएको स्थिति छ ।
कतिपयको त के देखिन्छ भने बुवा हराए, छोरो बुवाको खोजीमा गयो तर छोरो पनि हरायो । उसको खोजीमा परिवारको अरू मान्छे जाँदा उनीहरू पनि सम्पर्कविहीन भएको कहालीलाग्दो अवस्था छ । कतिपयको बच्चा सानै हुँदाखेरि बुवा भारतमै हराउनुभयो । छोरा ठूलो भएर भारतमै काम गर्न गएर बेपत्ता भएको पनि देखिन्छ ।
यस्तै एउटा भिडियो जसमा आफ्नु छोरा हराएको भन्दै एक वृद्ध महिला मिडियामा आएकी छिन्।